Top Ad unit 728 × 90

News
News

डेढ लाख भाडा तिरेर चार्टड गरिएको विमान दुर्घटना,एकको ज्यान बचाउन खोज्दा पुरै परिवारको ज्यानै गयो

गोरखा: बिरामी सुत्केरीलाई उपचारका लागि काठमाडौं लैजान चार्टर्ड गरिएको हेलिकोप्टर सोमबार दुर्घटना हुँदा सिर्दिबास–२ का पाँचसहित सातजनाको मृत्यु भयो । बिरामीले उपचार पाउनु त पर, सातजनाले व्यर्थै जीवन गुमाउनुपर्‌यो । तीन दिनअघि गत शुक्रबार सिर्दिबास–९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर गरी काठमाडौं लगियो । उनीहरूको अहिले त्रिवि शिक्षण अस्पतालमा
उपचार भइरहेको छ । त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकोप्टर चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्‌याइयो । १५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको बिरामीको हेरचाह गर्दै आएकी कुमारी गुरुङले बताइन् । त्यसभन्दा केही दिनअघि ल्हो गाविसका दुईजना घाइतेलाई पनि एक लाख ७० हजार रुपैयाँ भाडा तिरेर हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । केही दिनको उपचारपछि उनीहरू घर फर्किसकेका छन् । सुत्केरी हुँदा हातले सालनाल झिकेका कारण इन्फेक्सन भएर सिकिस्त भएकी बिही–२ की पासाङ साङ्मोलाई उपचार गर्न हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो । एक लाख ४० हजार रुपैयाँ हेलिकोप्टर खर्च गरी प्रसूतिगृह पुर्‌याइएकी पासाङ निःशुल्क उपचार गरेर घर फर्किइन् । न्याकमा अहिले पनि पाँचजना बिरामी छन् । हेलिकोप्टर खर्च नपाएर उनीहरू मर्ने–बाँच्ने दोसाँधमा थला परिरहेको स्थानीय देशमाया गुरुङले बताइन् । 'तीनजना डेढ महिनादेखि थला परेका छन्, दुईजना २० दिनदेखि सिकिस्त छन्,' उनले भने, 'बाङ्सिङबाट, ड्याङबाट झाँक्री ल्याएर लगाइसकियो । गाउँका झाँक्रीले झन् कति कुखुरा काटे–काटे । अझै ठिक भएन । झन्–झन् बढिरहेको छ ।' त्यहाँबाट ६ घन्टा पैदल दुरीमा सिर्दिबास स्वास्थ्यचौकी छ । स्वास्थ्यचौकीबाट औषधि ल्याएर खुवाए पनि ठिक नभएको उनले बताइन् । 'टाउको दुखेको, ज्वरो आएको छ भनेर औषधि ल्याएर खुवाएको ठिक भएन,' उनले भनिन्, 'अहिले त जाउलो खान पनि छोडिसकेका छन् । हेलिकोप्टरलाई तिर्ने ऋण पनि नपाएर काठमाडौं जान पाएका छैनन्, खै के पो होला अब ? ' यातायात सेवा नहुँदा गोरखाका दुर्गम नौ गाविसका बासिन्दा बिरामी पर्दा हेलिकोप्टर चार्टर गर्न बाध्य छन् । हेलिकोप्टर चार्टर गर्न नसक्नेहरू उपचार नपाएर मर्न बाध्य हुने बिहीका नवीन गुरुङले बताए । 'दिनरात नङ्ग्रा खियाएर मुस्किलले छाकमात्र टार्ने यी अति दुर्गमका गाउँलेसँग हेलिकोप्टर चार्टर्ड गर्ने खर्च हुँदैन,' उनले भने, 'तैपनि यसले ऋण तिर्न सक्छ भनेर काठमाडौं बस्ने गाउँलेले हेलीको भाडा सापट दिन्छन् । तिर्ने उपाय नहुनेलाई साहुले पनि पत्याउँदैनन् । उनीहरू बिरामी भए भने काल पर्खेर सुतिरहने हो ।' उत्तरी गोरखाका बासिन्दा वर्षौंदेखि गाउँमा उपचारसेवा नपाएर जीवन गुमाइरहनुपरेको छेकम्पारका धावा ग्याल्जेन लामाले बताए । ऋण पाउनेले पनि उपचार पाउने ग्यारेन्टी नहुने उनको भनाइ छ । 'ल हेर्नुस् त साहुको ऋण पाएर हेलिकोप्टर चार्टर्ड गरेर उपचार गर्न गएका प्रीतिका परिवारै सखाप भए,' उनले भने, 'कतिपय त हातमा पैसा लिएर बस्दाबस्दा समयमा हेलिकोप्टर नपाएर मर्नुपर्छ ।गोरखाको उत्तरी भेगलाई निषेधित क्षेत्रका रूपमा राखिएको छ । निषेधित क्षेत्रमा हेलिकोप्टर लैजान ज्यादै झन्झटिलो हुने धावाले बताए । उनले भने, 'इमर्जेन्सी परेर हेलिकोप्टर चार्टड गर्नुपर्ने हुन्छ तर अनुमतिका लागि गृह मन्त्रालय, नागरिक उड्ययन मन्त्रालय धाउँदाधाउँदै बिरामीको अन्तिम अवस्था भइसक्छ ।' यातायातको अरू विकल्प नभएको उत्तरी गोरखाका लागि सरकारले हेलिकोप्टर सेवा सहज बनाउनुपर्नेमा उनको जोड छ ।
डेढ लाख भाडा तिरेर चार्टड गरिएको विमान दुर्घटना,एकको ज्यान बचाउन खोज्दा पुरै परिवारको ज्यानै गयो Reviewed by Google Girl on 11:30:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.