Top Ad unit 728 × 90

News
News

प्रचण्डज्यू ! जोयालाई नेपाल फर्काउँ ,नेपालकी बुहारी जोया रुँदै रुँदै आफ्ना दुई काखे बालक च्याँपेर फ़िलिपिन्स जादाको दृश्यले सबैको मनमा माया पलाएको छ

– सरगम भट्टराई
सामाजिक मिडियामा लेख्न कम गर्छु भनेर धेरैपटक सोचेँ तर दिनदिनै देश दुखिरहेपछि नलेखी सुखै पाईदैन । शुभचिन्तक मित्रहरु म्यासेज पठाई हाल्नु हुन्छ : सरगमजी केहि लेख्नुपर्यो । म जस्तो बबुरोले भनेको न सरकारले सुन्ला न त सरोकारवालाले सुन्लान तर पनि मनको डाह शान्त पार्नै भए पनि केहि न केहि लेखिरहन मन लाग्छ । तीन चार दिन भो अचेल मलाई राम्ररी निद्रा लागेको छैन । नेपालकी बुहारी जोया रुँदै रुँदै आफ्ना दुई काखे बालक काखी च्याँपेर फ़िलिपिन्स उडिन् भन्दा मुटुमा गाँठो परेर आयो, अरुबेला नेपाली भनेर गर्बले छाती चौड़ा पार्ने म बबुरो लाज र हीनताबोधले मुन्टो निहुर्याएँ, यस्तो लाग्यो कि जोयालाई घरबार बिहीन बनाउने मैँ हूँ, उसलाई फकाई फकाई नेपाल बोलाएर उसको खुशीमा लात हान्ने
पनि मै हूँ, उसका कलिला ती छोराहरुलाई बाबुको अभिभावकत्व नदिएर सडकमा पुर्याउने पनि मै हूँ । जोयाले दिलोज्यान दिदा दिदै पनि घात र प्रतिघातले गलहत्याउने पनि मै हूँ । पवित्र प्रेममा आगो लगाउने पनि मै हुँ । सीता र भृकुटीले सतीत्व जोगाएको देशको मान्छे, बुद्दले शान्ति र अहिंसाको उषा ल्याएको देशको मान्छे म, अनि देशको सर्बोच्च निकाय राष्ट्रपति महिला, सभामुख महिला र सर्बोच्च अदालतको प्रधानन्यायधीस महिला भएको देशमा एउटा नेपाली पुरुषलाई सर्वस्व सुम्पेर साथ दिन आएकी फिलिपीनो नागरिक जोया अश्रु धारा बगाउँदै बिदा हुँदा एउटा पुरुषको गल्तीको सजायँ ती अबोध बालक र त्यो अबोला नारीले किन पाउने भन्ने कुराले मलाई घचघचाईरह्यो । नैतिकताको आधारमा मैले आफैलाई दोषी मानिरहेँ । हो, सरसर्ती हेर्दा जोयालाई आफ्नै देश पठाउँदा उनी माथि न्याँय भएको देख्ने मानवअधिकारवादी र सरोकारवालाहरुले आफ्नो दायित्व पूरा गरेकोमा भोलि कतै प्रायोजित अभिनन्दन पाउलान या पुरस्कार थाप्लान तर सबै तिर न्याय मरेको बेलामा जोया माथि अन्याय नै भएको हो भन्ने मेरो ठहर हो । प्रेमको कुनै सिमाना हुन्न भनेर धेरै साहित्यकारले भनिरहँदा एउटा निरिह चेलीले पाएको प्रताड़नामा मेरो देशको फितलो कानूनले हिंसाको उपचार देश निकाला गरेर गर्छ भने त्यसको समर्थन म र मेरा बिचार समूहले गर्नैपर्ने छ भन्ने के नै छ र ? म यसको समर्थन गर्दै गर्दिन । देशमा पहिचानवादीहरुको बोलबाला छ, दक्षिण तर्फबाट अंगिकृत नागरिकताधारीहरुले संबिधानमा कार्यकारी पद मागिरहेका बेला एउटी परिवारले त्यागेकी चेलीलाई सहारा दिई न्याय दिनु त कता हो कता उल्टो जरिवाना तिराएर माईतीदेश फर्काउनु कहाँ सम्मको न्याय हो , ती मानवअधिकारवादी र डलरको आडमा समाजसेवा गर्नेहरुलाई सोध्न मन लागेको छ : के तिम्री छोरी चेलीलाई कसैले यसैगरि सर्वस्व लुटेर सडकमा पुर्याएको देख्न सक्ने सामर्थ्य छ तिमीमा ?

पीडितः जोया (जोयालिन ग्रेस टेलेरमो माइजारेस)

एउटा मुद्दाको पुनरावेदन जरुरी छ: के जोयालाई फ़िलिपिन्स पठाएर हामीले न्याँय गर्यौँ त ? यसले नेपाली र नेपालको प्रतिष्ठा गिर्छ भन्ने कुराको पनि कति हेक्का राख्न नसकेको ? हिजोको एक दुर्ब्यसनीलाई सर्वस्व सुम्पेकी एउटी चेली यसरी तिरस्कृत हुँदा भोलि बिष्व समुदायमा हाम्रो कस्तो प्रभाव पर्ने छ भन्ने कुरा सरोकारवालाले किन छिनोफानो गर्न सकेनन, कोमल मन भएका सबैलाई अचम्म लागेको छ । जीवनको ज्यान बचाउन जोयाले गरेको त्यागलाई माला पहिरदिएर घर फर्काएर हामीले कतै पाप त गरेनौँ भन्ने कुरा छलफलको बिषय बन्नुपर्छ कि पर्दैन ? राज्य त सबैको अभिभावक हो, जोया नेपालकै छोराकी श्रीमती भएकीले उ नेपालकी बुहारी हो, अर्थात हाम्रो ईज्जत हो । हामीले त त्यसरी त्यागिएकी चेलीलाई अधिकार सम्पन्न बनाउनुपर्थ्यो, एउटी छोरीले पाएको यो प्रताड़ना प्रति नैतिक जिम्मेवारी लिदै दोषीलाई कारवाही गर्नुपर्थ्यो, ती काखे बालकहरुलाई अभिभावकत्व दिदै राज्य र समाज नमूना बन्न सक्नुपर्थ्यो । हाम्रा जुनेली र उजेलीहरु यसै गरी बिदेशबाट बिना बाबु दुई छोरा काखी च्याँपेर रुँदै रुँदै आए भने के हामी स्विकार्न सक्छौ ? सरोकारवालाले जवाफ दिनैपर्छ । हाम्रा पुर्खाले कमाएको साखलाई हामीले बेच्दै यसैगरि गलत हर्कत गर्दै जाने हो भने हामीले चाहेको भेदभावरहीत नेपाल कसरी बन्ला, जब कि हामी चेली बेच्ने, जलाउने र गलाउने हर्कतहरु गर्नेलाई सजाँय हैन पुरस्कार दिन्छौँ ? के महिला भेदभाव बिरुद्दको कानून अनुसार यो क्षम्य अपराध हो ? त्यसैले मेरो पनि एउटा माग छ: मन्त्री छान्न यसरी संकट परिरहेको बेला एउटा नेपालीलाई तन मन र धन दिएर बचाई नेपाल फर्काएको सजाँय भोगेकी चेली जोयालाई ससम्मान नेपाल फर्काएर अंगिकृत नागरिकता दिएर पछि मुख्यमन्त्री हुने गरी अहिले कुनै एक मन्त्रालय दिऊँ , दक्षिणका अंगिकृतहरु मन्त्री बन्न योग्य हुन्छन भने पश्चिमका किन नहुने ? जोया जस्ता पिडित चेलीले अहिले सत्ताको भर्यांग चढ्न जसो पनि गर्न उद्दत हुनेहरुले भन्दा लाखौँ गुना नेपाललाई माया गर्छन भन्ने मेरो ठम्याईँ हो । तपाईहरुलाई के लागेको छ कुन्नि ?
(प्रतिकृयाका लागि : Kris.bh@hotmail.co.uk/ फेसबुक पेज: Krishna Sargam- कृष्ण सरगम) - दैनिक नेपाल
प्रचण्डज्यू ! जोयालाई नेपाल फर्काउँ ,नेपालकी बुहारी जोया रुँदै रुँदै आफ्ना दुई काखे बालक च्याँपेर फ़िलिपिन्स जादाको दृश्यले सबैको मनमा माया पलाएको छ Reviewed by Google Girl on 2:02:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.