Top Ad unit 728 × 90

News
News

पाठेघरको क्यान्सर रोगी बढ्दै ,कसरी लाग्छ त महिला लाइ पाठेघरको क्यान्सर ?

काठमाडौं । नेपालका महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यसलाई समयमै सजगता अपनाउने हो भने यो क्यान्सरबाट बच्च सकिने चिकित्सक बताउँछन् । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को सङ्क्रमणले हुने यो क्यान्सरबारे अझ पनि धेरै महिला अनभिज्ञ भएको क्यान्सर केयर फाउन्डेसनकी महासचिव डा. सरीता घिमिरेको अनुभव छ । उनी भन्छिन्, ‘
नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरले पीडित महिलाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो निकै डरलाग्दो कुरा हो । क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको सङ्ख्या बढ्दो क्रममा छ ।’ भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि प्रजापति भन्छिन्, ‘यो सङ्क्रमणलाई प्री क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ/दश वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । सङ्क्रमण भए/नभएको प्याप स्मेयर टेस्ट (गर्भाशय स्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ ।’ यो पाठेघरका कोशिका सामान्य अवस्थामा रहे, नरहेको पत्ता लगाउने सरल र छरितो विधि पनि हो । यो परीक्षण सस्तो पनि छ र यो जाँच गर्दा महिलालाई दुख्दैन । यो ५ देखि १५ मिनेटमा गर्न सकिन्छ । प्यापस्मेयर गर्दा दुई दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । साथै, यो परीक्षण महिनावारी भएको बेला गर्न मिल्दैन । यो परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन । डा. प्रजापति यो परीक्षण २३ वर्षभन्दा माथिका वा बिहे भई तीनवर्ष पूरा भएका महिलाले गर्नुपर्ने सल्लाह दिनुहुन्छ । यो परीक्षणले भविष्यमा हुने ठूलो धनजनको क्षति हुनबाट बचाउँछ । यो परीक्षण पहिला ६ महिनाको फरकमा तीनपटक गर्नुपर्छ । यो तीनैपटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ ।
यसमा पनि नेगेटिभ देखिएमा ३ वर्षपछि परीक्षण गराउनुपर्छ । यसमा पनि नेगेटिभ देखिएमा ५ वर्षपछि परीक्षण गर्नुपर्छ । यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ तर परीक्षण गर्न छाड्नु हुँदैन । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने चिकित्सकको भनाइ छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको पनि आविष्कार भइसकेको छ । यो खोप ९ देखि १३ वर्षका बालिकालाई लगाइन्छ तर नेपालमा यो खोप महँगो पर्ने भएकाले नेपालमा खासै प्रयोगमा आउन सकेको छैन । तर पनि सरकारले कास्की र चितवनबाट यो खोप लगाउने कार्य सुरु गरिसकेको छ । डा. प्रजापति यदि पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क सुरु भएपछि यसले असर देखाउन सुरु गर्ने र योनीबाट सेतो पानी बग्ने र चिलाउने जस्ता प्रारम्भिक लक्षण देखापर्ने बताउँछिन्। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योति अग्रवाल यस्ता लक्षण देखिनासाथ प्याप स्मेयर परीक्षण गराउनुपर्ने बताउँछिन् । यो परीक्षणले सङ्क्रमण क्यान्सर हुनुअगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिने उनको भनाइ छ । धेरै जनासँग असुरक्षित यौन सम्बन्ध राखेमा, पुरुषले धेरैजनासँंग असुरक्षित यौन सम्बन्ध राखेमा, सानै उमेरमा विवाह भएमा, सानै उमेरमा यौन सम्बन्ध राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धूमपान गरेमा (महिला वा पुरुष), पाठेघरको मुखको क्यान्सरको खतरा बढ्ने डा. अग्रवालको भनाइ छ । लामो समयसम्म (५ वर्षभन्दा बढी) हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पनि यसको सम्भावना हुन्छ । हार्माेनयुक्त परिवार नियोजनका साधन ३/४ वर्षको बीचमा केही समय रोकेर पुनः प्रयोग गर्नु राम्रो हुन्छ । हार्माेनले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने भएकाले बीच-बीचमा साधन परिवर्तन गर्नुपर्छ । यदि यौनसम्पर्क गर्दा रगत देखिएमा, महिनावारी नभए पनि रगत देखिएमा, योनीबाट सेतो गन्हाउने पानी आउने, सानो पेट दुखिरहने, ढाड दुख्ने, थकाइ बढी लाग्ने, लामो समयसम्म खोकी निको नहुने, स्वर परिवर्तन हुने, दिसा वा पिसाबको तालिका फरक हुने, तौल घट्दै जाने जस्ता लक्षण देखिएपछि पाठेघरको मुखको क्यान्सर भएको हुनसक्ने भएकाले यदि यीमध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्ने डा. प्रजापतिको सल्लाह छ ।
पाठेघरको क्यान्सर रोगी बढ्दै ,कसरी लाग्छ त महिला लाइ पाठेघरको क्यान्सर ? Reviewed by Google Girl on 10:23:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.