Top Ad unit 728 × 90

News
News

अब ईपीएस कोरियाको परीक्षा दिनेबित्तिकै नतिजा हेर्न मिल्ने

काठमाडौंः ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा सकिने बित्तिकै दिइने तयारी गरिएको हो । काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्यरूपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थासँगै परीक्षा लिने बित्तिकै प्राप्तांक पनि देखाउने प्रणाली विकास गर्न लागिएको हो । हाल परीक्षा दिएपछि नतीजा थाहा पाउन लामो समय कुर्नुपर्ने बाध्यता छ । कागजी प्रणालीमा परीक्षा लिइने भएकाले परीक्षण गर्न लामो समय लागेको हो ।
कम्प्युटर प्रणालीबाट परीक्षा लिएपछि उत्तर मिलेनमिलेको सिस्टमले परीक्षण गर्ने व्यवस्था हुनेछ । सोही आधारमा कुन प्रश्नको उत्तर मिल्यो वा मिलेन अनि कति अंक प्राप्त भयो भन्ने जानकारी परीक्षार्थीलाई देखाउन लागिएको हो । कोरिया जाने व्यक्ति अब कम्प्युटरमा पनि साक्षर हुनैपर्ने भएका छन् । ग्रामीण क्षेत्रका युवाले पनि कोरिया जानका लागि कम्प्युटरका आधारभूत ज्ञान हासिल गर्नैपर्नेछ । कम्प्युटरमा बसेर परीक्षा दिन नसक्नेहरू त्यहाँ जानबाट वञ्चित हुनेछन् । कोरियाले अबदेखि कामदारले लिने १६ वटै मुलुकमा इपीएस परीक्षा कम्प्युटरबाट सम्पन्न गर्ने निर्णय गरिसकेको छ । भाषा परीक्षा सन् २०१९ देखि वर्षैभरिजसो चल्नेछ । कोरिया जान आवेदन दिनेको संख्या अत्याधिक बढी हुने भएकाले वर्षैभरी परीक्षा सञ्चालन गर्न लागिएको हो । अहिले कोरिया जान करिब ६० हजार जनाले परीक्षा दिने गरेका छन् । यति धेरै संख्यालाई कम्प्युटरमा राखेर एकदुई दिनमा परीक्षा सञ्चालन गर्न सकिने अवस्था छैन । ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियाले २०१९ देखि अनिवार्यरूपमा कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । ‘अब परीक्षार्थीले परीक्षा सक्ने बित्तिकै आफूले प्राप्त गरेको अंक थाहा पाउनेछन् । कुन प्रश्नको उत्तर मिल्यो वा बिग्रियो भन्ने जानकारी पनि दिइनेछ,' उनले भने, ‘हजारौं परीक्षार्थी हुने भएकाले अहिले जस्तो वर्षमा एकपटक परीक्षा लिन सम्भव नहुँदा वर्षभरीजस्तै परीक्षा चल्छ ।कोरियाले कम्प्युटरबाटमात्रै परीक्षा लिने भने पनि हामीकहाँ अहिलेसम्म यस्तो प्रणालीबाट परीक्षा लिन सक्ने संयन्त्र विकास गरिएको छैन । करिब दुई वर्षभित्रमा कम्प्युटर प्रणालीको परीक्षा सञ्चालन हलको व्यवस्थापन गरिसक्नुपर्ने बाध्यता छ । ईपीएसले आफ्नै सुविधा सम्पन्न परीक्षा हल बनाउन अध्ययन गरी प्रतिवदेन श्रम तथा रोजगार मन्त्रालयमा बुधबार पेस पनि गरिसकेको छ । परीक्षा हल तय गरेपछि आवश्यक कम्प्युटर र फर्निचर कोरिया सरकारले उपलब्ध गराउने बचन दिइसकेको छ । ‘सुविधासम्पन्न हल बनाएपछि कोरियाले आवश्यक कम्प्युटर र फर्निचर दिनेछ',प्रमुख बास्तोलाले भने । कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक हो । त्यहाँ हाल ३१ हजार नेपालीले काम गरिरहेका छन् । उद्योग, उत्पादन तथा कृषि क्षेत्रमा नेपालीले काम पाएका छन् । जाने बित्तिकै प्रशिक्षार्थी कामदारले न्यूनतम एक लाख ३० हजार कमाई गर्न सक्ने भएकाले त्यहाँको आकर्षण अधिक छ । हालैमात्र कोरियाले न्यूनतम तलब वृद्धि गरेको हो । उच्चशिक्षा हासिल गरेका, जागिरे अनि व्यापारव्यवसाय गरेर बसेकासमेत कोरिया जान इच्छुक देखिएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट मात्र काम गर्न कोरिया जान पाइन्छ । यो प्रणालीअन्तर्गत दुवै देशका सरकारी तवरबाट कामदार लेनदेन हुन्छ । म्यानपावर कम्पनीले कोरिया कामदार पठाउन पाउँदैनन् । आकर्षक कमाई हुने भएपछि यहाँ राम्रै रोजगारी वा पेसाव्यवसाय गरेकाहरू समेत त्यहाँ जान उत्साहित हुने गरेका छन् ।
अब ईपीएस कोरियाको परीक्षा दिनेबित्तिकै नतिजा हेर्न मिल्ने Reviewed by Google Girl on 9:21:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.