Top Ad unit 728 × 90

News
News

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाको कारण यस्तो थियो.

काठमाडौं: मौसमको खराबीका कारण सोमबार दिउँसो फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटस्थित पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको छ । विमानस्थलका निमित्त महाप्रबन्धक तथा एयर ट्राफिक कन्ट्रोलर प्रमुख सुधीरकुमार चौधरीका अनुसार हेलिकोप्टर दुर्घटनाको प्रमुख कारण मौसमको खराबी भएको प्रारम्भिक अनुमान छ । खराब मौसमकै कारण उद्धारका लागि गएको सिम्रिक एयरको हेलिकोप्टर पनि पहिलोपटकको प्रयासमा अवतरण गर्न नसकेर दोस्रोपटकमा मात्रै अवतरण भएको उनले बताए । उक्त हेलिकोप्टर बालाजु मनमैजुमाथिको बाटोबाट आउने अनुमतिपछि सम्पर्कविच्छेद भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका निमित्त महाप्रबन्धक चौधरीका अनुसार फिस्टेलको हेलिकोप्टर सोमबार दिउँसो १२ बजेर ३२ मिनेटमा सम्पर्कविच्छेद भएको हो । 'मनमैजुमाथि मैजुल्यान्डको रुट समातेर चार हजार आठ सय फिटको उचाइबाट आउन विमानस्थल टावरले अनुमति दिएपछि क्याप्टेन रन्जन लिम्बूले हुन्छमात्र भनेका थिए । त्यसपछि सम्पर्कमा आएनन्', चौधरीले भने । काठमाडौं विमानस्थल आउन जम्मा १० नटिकल माइल (१८ किलोमिटर) मात्रै बाँकी रहेको यो जहाजको सम्पर्क टुटेको दुई मिनेटभित्रै विमानस्थलको खोज तथा उद्धारकार्यलाई जानकारी दिएर तत्काल उद्धारकार्यमा सक्रिय बनाइएको जानकारी चौधरीले दिए । काठमाडौं विमानस्थलसम्म सम्पर्क भएपछि १० माइल टाढासम्म काठमाडौं एप्रोचको सम्पर्क आउने र १० माइलभन्दा नजिक आएपछि काठमाडौं टावरले जहाजको उडान नियन्त्रणमा लिने गरेको छ । फिस्टेलको जहाज काठमाडौं टावरसँग सम्पर्क हुनासाथ हराएको हो । कुनै पनि जहाज सम्पर्कमा नआए वा हराएमा तत्काल खोज तथा उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौंबाट उद्धार टोली खटाउने गरेको छ । सोमबारको दुर्घटनामा पनि खोज तथा उद्धार टोली नै खटाएर दुर्घटनास्थल नुवाकोटको मदनपुर पाखुरे पत्ता लागेको हो । जहाजसँग सम्पर्कविच्छेद भएपछि तुरुन्तै फिस्टेलको अर्को हेलिकोप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि प्रभाकर मल्लिकलाई लिएर खोजी गर्न नुवाकोटतर्फ गएको थियो । घटनास्थल पत्ता लगाएर फर्किएपछि पुनः अर्को हेलिकोप्टर घटनास्थलमा गएर सातैजनाको शव काठमाडौं ल्याइएको हो । गोरखाबाट काठमाडौं आइपुग्नै लाग्दा दुर्घटनामा परेको यो हेलिकोप्टर २५ मिनेट उडेको जीपीएस ट्र्याकको सर्भरले देखाएको फिस्टेल एयरका अपरेसन निर्देशक विनोद थापाले बताए । उनका अनुसार विमानस्थलसँग सम्पर्क टुटेपछि पनि जहाज उडेकाले १२ बजेर ४५ मिनेटसम्मको रेकर्ड जीपीएस मोनिटरले देखाएको छ । तीनवटा हेलिकोप्टर रहेको फिस्टेलसँग सोमबारको दुर्घटनापछि दुईवटा हेलिकोप्टर बाँकी छन् । हेलिकोप्टर दुर्घटना भएकाले हवाई उड्डयन नीतिअनुसार दुर्घटना जाँच आयोग गठन गरेर सत्यतथ्यसहितको कारण सार्वजनिक गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । उनका अनुसार पर्यटनमन्त्री नियुक्त नभइसकेकाले प्रधानमन्त्रीसँगको छलफलपछि सोमबार यसको दुर्घटना जाँच समिति बन्छ । दुर्घटनामा ज्यान गुमाएका क्याप्टेनसहित सातैजनाको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको जानकारी फिस्टेल एयरले दिएको छ ।
फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाको कारण यस्तो थियो. Reviewed by Google Girl on 12:52:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.