Top Ad unit 728 × 90

News
News

यिनै पाँच बहादुर युवा जसले बचाए २९ जनाको ज्यान ..

धरान:
सप्तकोसी डुंगा दुर्घटनामा आफ्नो ज्यान जोखिममा राखेर २९ जनाको सकुशल उद्धार गर्ने महेन्द्रनगरका पाँच युवा ।

सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलाई छरछिमेकीले खासै मन पराउँदैनथे, दिउँसै रक्सी खाने उनको स्वभावका कारण । तिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् । केबिरथ मात्र होइन, महेन्द्रनगर गाविस ठाकुरबारीका अमृत खड्का, रामचन्द्र मोची, रोजन राई र बाबुराम चन्द्रवंशीले गाउँमा बहादुर युवाको परिचय बनाएका छन्, शनिबारदेखि । सप्तकोसीमा शनिबार डुंगा दुर्घटनामा परेका २९ जनालाई एकैसाथ सकुशल उद्धार गरी यी पाँच युवाले सबैको वाहवाही बटुले । मृत्युको मुखमा पुगेका २९ जनालाई उद्धार गरी बचाएपछि केबिरथलाई
गाउँलेले 'नेपाल भाइ' भनेर बोलाउन थालेका छन् । 'दिउसै रक्सी खाँदा गाली गथ्र्यौं,' कांग्रेस महेन्द्रनगरका उपसभापति इन्द्र राईले भने, 'शनिबार उनले साहसिक काम गरेर गाउँको इज्जत राखे ।' राईले 'युवाबिनाको गाउँ पानीबिनाको माछा' हुने भन्दै यी पाँच युवाले देखाएको बहादुरीको प्रशंसा गरे । ठाकुरबारीका यी पाँच युवा शनिबार सप्तकोसीमा बाढीले बगाएको दाउरा बटुल्दै थिए । दाउरा बटुलिरहेकै बेला कोसी टप्पुबाट प्रकाशपुर आउँदै गरेको डुंगा पल्टिएको देखेर उनीहरूले तत्काल २९ जनाको सकुशल उद्धार गरे । 'सप्तकोसीमा हामी दाउरा बटुलिरहेका थियौं, एक्कासि बचाऊ–बचाऊको आवाज सुनियो,' स्थानीय रोजन राईले भने, 'तत्कालै हामी डुंगामा भएका दाउरा फालेर डुबेकाको उद्धारमा लाग्यौं ।' दुर्घटनाका प्रत्यक्षदर्शी र घटनास्थल पुग्ने पहिलो टोली थियो त्यो । डुंगाचालक अमृत खड्काले उद्धार गर्दा झन्डै आफ्नो टोलीलाई नै कोसीले बगाएको स्मरण गरे । 'कोसीमा डुबेकालाई बचाउन सुरुमा डुंगाको डोरीले बाँधेको बाँसको चरी पक्रन दिएका थियौं । तर सबैले चरी समातेपछि डोरी चुँडिएर हाम्रो डुंगा पनि कोसीमा पल्टिन खोज्यो,' उनले भने, 'कसो–कसो डुंगा नियन्त्रणमा लिएर डुबेकालाई हाम्रो डुंगामा हालेर किनारमा ल्यायौं ।
सबैको उद्धार गरिसकेपछि गन्दा एक नाबालकसहित २९ जना थिए ।' अर्का उद्धारक बाबुराम चन्द्रवंशीले 'डुंगाको चरी चुँडिएपछि डुबेर मर्छु जस्तो लागेको' बताए । 'डुंगाको चरी चुँडिएपछि हेर्दाहेर्दै पाँच–छजना कोसीमा डुबेर बेपत्ता भए,' रोजन राईले भने, 'डुबेका सबैलाई बचाउन नसकेकोमा दुःख लागेको छ ।' कोसीमा डुबेर टाउको देखिएका जति सबैलाई उद्धार गरेर प्रकाशपुर ल्याएको राईले बताए । 'फेरि घटनास्थलमा जाँदा कसैलाई नभेटेपछि हामी घर फर्किएका हौं,' उनले भने । आपत्मा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै केबिरथले भने, 'आपत्विपत्मा परेकालाई सहयोग गरिएन भने मानव भएर बाँच्नुको अर्थ हुँदैन ।' आफ्नो ज्यान जोखिममा राखेर २९ जनाको सकुशल उद्धार गर्ने पाँचैजनालाई सुनसरीका प्रजिअ मोहनबहादुर चापागार्इं, एसपी पोषराज पोखरेल, वटुकदल गणका गणपति प्रमुख सेनानी सुलभ खड्का, राष्ट्रिय अनुसन्धान प्रमुख नगेन्द्र दाहाल, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका एसपी रमेश सुवेदीले बहादुरीको उच्च प्रशंसा गर्दै धन्यवाद दिएका छन् । बेपत्ता भएका १२ जनाका बारेमा केही पत्ता नलागेको एसपी पोखरेलले बताए । पाँचै युवाले सप्तकोसी नदीमा डुंगामा यात्रा गर्ने यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेट र मोटरबोटको व्यवस्था गर्न माग गरेका छन् । उनीहरूले कोसीमा डुबेकाको उद्धारका लागि आवश्यक तालिम दिलाउनसमेत माग गरेका छन् ।
यिनै पाँच बहादुर युवा जसले बचाए २९ जनाको ज्यान .. Reviewed by Google Girl on 10:42:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.