Top Ad unit 728 × 90

News
News

यसरी हुन्छ मिर्गाैला को किनबेच ? आफ्नै मृगौला बेच्ने नै दलाली बनेपछि ...

बनेपाः आर्थिक समस्याका कारण काभ्रेमा मिर्गौला बेचिने क्रम अझै रोकिएको छैन । मिर्गौला तस्करहरूको प्रलोभनमा परेपछि उनीहरूले मिर्गौला बच्ने गरेका हुन् । २२ वर्षअघिदेखि जिल्लामा सक्रिय मिर्गौला तस्करहरू अझै नयाँनयाँ तरिका अपनाउँदै मिर्गौला बेचबिखनमा सक्रिए हुँदै आएका छन् । तीन महिनाअघि दलालको आर्थिक प्रलोभनमा परेर रोजगारीका लागि भारत पुगेका पनौती नगरपालिका ९ का ३२ वर्षीय जयराम थापा दलालको सिकार बने । उनको मिर्गौला झिकियो । मिर्गौला बेचेर भारतबाट ल्याएको पैसाले केही दिनलाई पुगे पनि स्वास्थ्यमा आएको समस्या र पीडा सहन नसकी एक साताअघि उनले विष सेवन गरेर आत्महत्या गरे । सामान्य मजदुरी गर्दै आएका थापा गत जेठमा परिवारलाई जानकारी नदिई भारत गएर दुवै मिर्गौला बेची घर फर्केका थिए ।
उनले मिर्गौला बेचेको कसैलाई जानकारी थिएन । आत्महत्या गरेपछि पेटमा चिरिएको आलो घाउले उनले मिर्गौला बेचेको पत्ता लागेको आफन्तले बताए । आफन्तका अनुसार पोखराका लाहुरे बताउने एक अपरिचित व्यक्तिले प्रलोभनमा पारी मिर्गौला झिक्न तीन महिनाअघि भारत लगेको र समय समयमा आईएमईमार्फत पैसासमेत पठाउने गरेको बताए । ४७ बर्से मोहन सापकोटाले भारतको अस्पतालमा बिरामी कुरुवाको जागिर लाइदिन्छु भन्दै दलालले लगेर अलपत्र छोडेपछि मिर्गौला बेच्नु परेको सुनाए । ‘मेरो रहर होइन बाध्यता थियो । विदेशमा अलपत्र परें, कति दिन त भोकभोकै बसें, केही नलागेर ६० हजारमा एउटा मिर्गौला बेचें’, सापकोटाले भने, ‘दलालको जालमा परेर आज यो गती भयो ।’ आफ्नो मिर्गौला बेच्न जाँदा तस्करहरू चिनेपछि मिर्गौला बेच्नेहरू नै स्थानीय दलाल बन्ने गरेका छन् । मिर्गौला बेच्न लाने अधिकांश व्यक्ति स्थानीय नै छन् । तस्करहरूले गाउँलेहरूको नक्कली नागरिकता बनाएर र आफन्त देखाएर बेच्न लैजाने गरेका छन् । कान्छामान लामाको व्यथा पनि उस्तै छ । दैनिक ज्याला मजदुरीबाट घरपरिवार पाल्दै आएका उनले ऋण तिर्न मिर्गौला बेचे । ‘मलाई थाहा थियो मिर्गौला बेचे दुः ख पाइन्छ भनेर, तर के गर्नु बाध्यता थियो ।’ उनी मात्र होइन उनकी श्रीमतीले पनि मिर्गौला बेचिसकेकी छन् ।
२०५१ सालमा बिरामी कुरुवाको जागिर लगाइदिन्छौं भन्दै दलालहरूले ६० हजार रुपैयाँमा मदरसाको तमिल्नाडु अस्पतालमा मिर्गौला बेच्न लगाएको लामाले बताए । पनौती र होक्से गाउँका मिर्गौला बेच्ने प्रतिनिधि पात्र हुन् यी । काभ्रेमा दुई सयभन्दा बढी मिर्गौलापीडित छन् । जनअधिकार मञ्च (पीपीआर) काभ्रेका संयोजक कृष्णप्यारी नकर्मीका अनुसार जिल्लाका एक सय ५० भन्दा बढीले मिर्गौला बेचिसकेका छन् । पीपीआरले गरेको अध्ययनअनुसार होक्सेमा सबैभन्दा बढी साठी घर, ज्याक्ली, फूलबारी, पाँचखाल, काभ्रे र बालुवा गाविसमा एक सयभन्दा बढीले बेचिसकेका छन् । उनले भनिन्, ‘यो पूरा तथ्यांक होइन, केही क्षेत्रलाई आधार मानेर निकालिएको तथ्यांक हो ।’ पीडितहरूले मिर्गौला तस्करविरुद्ध उजुरी नगरेकाल नियन्त्रण र पहिचान गर्न कठिन हुने गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज राईले जानकारी दिए । ‘पनौतीमा मिर्गौला बेचिएका थापाको केस शंकास्पद छ । हामी अनुसन्धानको क्रममा छौं ।’ केही वर्षअधि मिर्गौला तस्करीमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको थियो । होक्सेमा २०४९ सालदेखि सुरु भएको मिर्गौला तस्करी अझै रोकिएको छैन । आफ्नो मिर्गौला बेच्न जाँदा तस्करहरू चिनेपछि मिर्गौला बेच्नेहरू नै स्थानीय दलाल बन्ने गरेका छन् । मिर्गौला बेच्न लाने अधिकांश व्यक्ति स्थानीय नै छन् । तस्करहरूले गाउँलेहरूको नक्कली नागरिकता बनाएर र आफन्त देखाएर बेच्न लैजाने गरेका छन् । कानुनमा मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत १० वर्ष कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म सजाय र जरिवाना हुने व्यवस्था रहेको छ । ५० प्रतिशत पीडितले क्षतिपूर्ति पाउने व्यवस्था रहे पनि प्रक्राउ पर्ने तस्करबाट पीडितले हालसम्म कुनै रकम क्षतिपूर्ति पाएका छैनन् ।
पीडा भुलाउन रक्सी मिर्गौला बेच्नेहरूको शारीरिक अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ । गरिबी र अभावका कारण मिर्गौला बेचेपछि उनीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न थालेसँगै दुखाइ र पीडा भुलाउन रक्सीको साहरा लिन थालेका छन् । मिर्गौला बेचेपछि उनीहरूको स्वास्थ्य अवस्था दयनीय बनेको छ । बाँकी रहेको एक मिर्गौलाले पनि काम गर्न छोडेसँगै रक्सीको साहरा लिन थालेको मिर्गौला तस्करविरुद्धका अभियानकर्ता बद्री ढुंगाना बताउँछन् । ‘सम्बन्धित निकायले मिर्गौला बेचबिखनको समस्यालाई गम्भीर रूपमा नलिँदा काभ्रेलगायतका जिल्लामा मिर्गौला तस्करीको समस्या जटिल बन्दै गएको छ’, उनले भने । पीडा भुलाउन पीडितहरूले दैनिक लोकल रक्सी खाने गरेका छन् । अधिकाशंको शारीरिक अवस्था कमजोर भएकाले ओछ्यानमै थलिन थालेका छन् भने मिर्गौला बेचेकामध्ये होक्सेका कृष्ण ठकुरी र महादेवस्थानका सुब्बा सापकोटाको यही कारणले मृत्यु भइसकेको छ । सरकारसँगै छैन मिर्गौला बेच्नेको तथ्यांक होक्से मिर्गौला बेच्ने गाउँका रूपमा जति परिचित हुँदैछ, त्यति नै मिर्गौला बेच्ने दलालहरू पनि सक्रिय हुँदैछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा होक्से गाउँ मिर्गौला बेच्ने गाउँ अर्थात् (बैक अफ किड्नी) का रूपमा चर्चित ठाउँ भए पनि होक्सेबारे सरकार अनभिज्ञ छ । सरकारको केन्द्रीय होस् या स्थानीय निकाय यसबारे जानकार भए पनि कतिले मिर्गौला बेचे भन्ने एकीन तथ्यांक सरकारसँग छैन । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शार्माले एकीन तथ्यांक नरहेको बताए । ‘जिल्लामा कति मिर्गौलापीडित छन् भन्ने हामीसँग एकीन डाटा छैन’, उनले भने ।
यसरी हुन्छ मिर्गाैला को किनबेच ? आफ्नै मृगौला बेच्ने नै दलाली बनेपछि ... Reviewed by Google Girl on 6:52:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.