
१६ भदौ, काठमाडौं । बाबुको मुख हेर्ने अघिल्लो साँझ बानेश्वर चोकमा झमझम पानी परिरहेको थियो । एउटा घरको तेस्रो तल्लामा भेटिइन् पीडामा पनि मुस्कुराउन सक्ने हँसिली किशोरी । उनी १२ कक्षा पढ्दै रहिछन् । उनले सुनाइन्- आफ्ना दुईजना पिताको रावण-कहानी ।
आफ्नै धर्मबाबुबाट बलात्कृत भएकी यी किशोरीका दाजुले मोरङ जिल्ला अदालतको फैसला देखाए, जसमा धर्मपुत्रीलाई ‘धर्मबाबु’ ले गरेको जबरजस्ती करणीलाई ‘हाडनाता करणी’ भन्न नमिल्ने जिकिर गरिएको थियो ।
सम्भवतः धर्मपुत्रीमाथिको बलात्कार हाडनाताकरणी हो कि हैन भन्ने यो प्रश्न अब चाँडै सर्वोच्च अदालतसम्म आइपुग्नेछ । र, यसले पक्कै पनि सुशीला कार्की र सपनाप्रधान मल्लहरुको ध्यान तान्ने वाला छ ।
रामेछापकी यी अवोध किशोरी दुई वर्षकी हुँदा आमा बितिन् । लगत्तै बाबुले सौतेनी आमा भित्र्याए । आफूभन्दा मास्तिर दुईजना कलिला दाजुदिदी थिए ।
कान्छीलाई बिराटनगरका कांग्रेस नेता गोपाल शर्मा र उनकी पत्नीले धर्मपुत्री बनाएर घरमा राखे । नाताले उनीहरु सानाबुबा, सानीआमा हुन् ।
ट्रेड युनियन कांग्रेसका मोरङ जिल्ला अध्यक्षसमेत भइसकेका गोपाल आफैैले धर्मपुत्रीलाई एसएलसीसम्म पढाए, जन्मदर्ता पनि गोपालले आफैं बाबु बनेर गराइदिए । एसएलसीको प्रमाणपत्रमा पनि उनै गोपाल शर्मालाई ‘बाबु’ भनेर लेखियो ।
तर, मोरङ जिल्ला अदालतले यी बाबु-छोरीलाई ‘हाडनाता’ मानेन । पनुरावेदन अदालत बिराटनगरले पनि जिल्लाकै फैसलालाई सदर गर्यो ।
सम्भवतः धर्मपुत्रीमाथिको बलात्कार हाडनाताकरणी हो कि हैन भन्ने यो प्रश्न अब चाँडै सर्वोच्च अदालतसम्म आइपुग्नेछ । र, यसले पक्कै पनि सुशीला कार्की र सपनाप्रधान मल्लहरुको ध्यान तान्ने वाला छ ।
बाबु भनिएका गोपालले यी किशोरीलाई यौनिक परिपक्वता नआउँदैदेखि यौन शोषण गरे । अदालतको फैसला कागजमा डाक्टरलाई हुलिया दिँदै लेखिएअनुसार ‘जाहेरवालीको कन्याजाली च्यातिएको’ देखिएकाले बलात्कार गरेको प्रमाणित हुन्छ ।
धर्मपिताबाट लुटिएपछि यी किशोरीका लागि बाबुको मुख हेर्ने आजको दिन एउटा कहालीलाग्दो दिनका रुपमा वर्षेनी आउने गरेको छ । उनले कुन बाबुको मुख हेर्ने ? जन्मदिने बाबुले अहिले एकजना तामाङ्नीसँग तेस्रो बिवाह गरेका छन् । धर्मबाबुका नाममा ‘पाप-बाबु’ ठहरिएका गोपाल बिराटनगरस्थित आफ्नै घरछेउको जेलमा बसेर घरैको भात खाइरहेका छन् । उनको मुख हेर्ने कुरै भएन ।
अब यी किशोरीले हेर्ने भनेको अदालतको मुख मात्रै हो । जसले उनलाई न्याय दिन्छ कि दिँदैन ? मुलुकी ऐनले नै भनेको अंश दिलाउँछ कि दिलाउँदैन ? अनि नागरिकता बनाउन पाइन्छ कि पाइँदैन ?
मोरङ जिल्ला प्रशासनलाई नागरिकता बनाइदिनू भनेर वाल कल्याण समितिले लेखिदिँदा पनि किशोरीको नागरिकता अझैसम्म बनेको छैन । उनी आफ्नै देशमा नागरिकताविहीन बनेकी छिन् ।
No comments: